वि.सं:
नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३
परिचय
तथ्याङ्क ऐन, २०१५ बमोजिम राष्ट्रिय योजना आयोग अन्तर्गत रहने गरी वि.सं. २०१५ सालमा केन्द्रीय तथ्याङ्क विभागको स्थापना भएकोमा तथ्याङ्क ऐन, २०७९ बमोजिम वि.सं. २०७९ साल असोज २८ गतेदेखि उक्त विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिणत भएको र उक्त विभाग अन्तर्गत रहने गरी वि.सं. २०५० सालमा स्थापना भएका ३३ वटा तथ्याङ्क कार्यालयहरु राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत रही तथ्याङ्कीय क्रियाकलापहरु सञ्चालन हुँदै आएको थियो । यसै क्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०९/१२ गतेको निर्णय अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गतका ३३ वटा तथ्याङ्क कार्यालयहरु खारेज भई राष्ट्रिय तथ्याङ्क कार्यालय र अन्तर्गतका १८ वटा तथ्याङ्क समन्वय कार्यालयहरुको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत भएको र राष्ट्रिय किताबखाना (निजामती) को मिति २०८०/११/११ गतेको निर्णयबाट संगठन दर्ता, खारेज र थपघट समेत भई १८ वटा तथ्याङ्क समन्वय कार्यालयहरुमध्ये एक कार्यालयको रुपमा इलाम जिल्लामा तथ्याङ्क समन्वय कार्यालय, इलामको स्थापना भएको हो ।
विभिन्न सरोकारवाला व्यक्ति तथा निकायहरुसँग तथ्याङ्कीय समन्वय गर्ने तथा नीति तर्जुमा र विश्लेषण, योजना निर्माण, अनुगमन र मुल्याङ्कन एवं अन्य विविध उद्देश्यका लागि आवस्यक तथ्याङ्क सङ्कलनका साथै अन्य विविध तथ्याङ्कीय क्रियाकलापहरु सञ्चालन गर्ने भुमिका रहेको यस कार्यालयको कार्य क्षेत्र अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम र झापा गरी ४ वटा जिल्लाहरु रहेका छन् । यो कार्यालय इलाम जिल्ला, इलाम नगरपालिका, वडा नम्बर ७, फूलगाँछीमा अवस्थित छ ।